काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनको अन्तिम तयारी र राजनीतिक दलहरूबीचको समन्वयका विषयमा  कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालसँग छलफल गरेकी थिइन् ।

प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार भेट गरेका सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने र त्यसमा सबै राजनीतिक दल सहभागी हुने स्पष्ट पारे । उनले निर्वाचनको विकल्प नरहेको भन्दै सरकार निर्धारित समयमै चुनाव गराउन प्रतिबद्ध रहेको बताए ।