काठमाडौं - नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । आजै मन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ ग्रहण गरेलगत्तै परराष्ट्र मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘नेपालको इमेज संसारभर कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अघि बढ्नेछु,’ उनले भने ।
मन्त्री शर्माले मुलुक र मन्त्रालयको हितका लागि जिम्मेवारी लिन आएको उल्लेख गर्दै कूटनीतिक क्षेत्रमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे । ‘यो मुलुक हाम्रो हो । हामीले जति खाली राख्छौँ, त्यति समस्या बढ्छ । मुलुक र मन्त्रालयको उद्धार हुन्छ भने जिम्मेवारी लिनु हुँदैन भन्ने सोचमा म छैन,’ उनले भने ।
साथै, उनले निर्वाचनसम्बन्धी विषयमा छिमेकी देशहरूसँग आवश्यक परे सही तरिकाले सहकार्य गरिने बताए । मन्त्री शर्माले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सकारात्मक र मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए । कार्यदेश प्राप्त भएपछि मन्त्रालयको कामलाई थप प्रभावकारी ढंगले अघि बढाइने उनले बताए ।


0 comment