काठमाडौ: गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गर्नुभएको छ। 

मन्त्रिपरिषदको यहि पुष ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लक मध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो।

अवलोकनका क्रममा मन्त्री अर्यालले अव बालबिज्याइँकर्तालाई यहाँ खालि गरिएको बाल सुधार गृहमा छिट्टै स्थानान्तरण गरिने बताउनुभयो। सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरुसँग केहीबेर उनीहरुसँग कुरा गर्दै उनीहरुको गुनासा र परेका समस्याबारे सुन्नु भएको थियो।

सोही क्रममा मन्त्री अर्यालले उनीहरुको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्नु भएको थियो।  यस्तै, अवलोकन पछि, मन्त्री अर्यालले कैदीबन्दीहरुको मानवअधिकारको उच्च ख्याल गर्दै कारागार भित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिनुभयो।  

कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा यस कारागारसम्म पुग्ने सडकको पूर्वाधार निकै कमजोर भएको अवगत गराउँदै यहाँको सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिवद्दता पनि मन्त्री अर्यालले व्यक्त गर्नुभयो।  
 
नुवाकोटको विदुरमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा ५०० जना बाल बालबिज्याइँकर्ता सहज तरिकाले राख्न सकिने छ।  नुवाकोटको तीन वटा ब्लकमा कार्तिक महिनाको मास्केबारी अनुसार ८७३ जना कैदीबन्दी र थुनुवा रहेका छन् भने खालि रहेको एउटा ब्लकमा बढीमा ५०० को संख्यामा बालबिज्याइँ राख्ने सरकारको तयारी छ। 
 
देशका मुख्य गरी बाँकेको जयेन्दु बाल सुधार गृह, वीरगञ्जको बिर्तास्थित बाल सुधार गृह र भक्तपुरको बाल सुधार गृहमा बेलाबेलामाबालबिज्याइँकर्ताहरुबीच 
झडप हुने गरेको छ।  यसको मुख्य समस्याको रुपमा उनीहरुको बढ्दो उमेर नै रहेको बुझिएको छ।    

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।