काठमाडौं - भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका दुई परिवारका ६ जना विद्यार्थीलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।
विपद्का कारण विद्यार्थीहरूको शिक्षा अवरुद्ध हुन नदिन कागेश्वरी मनोहरा नगरपालिका र सिद्धि गणेश माध्यमिक विद्यालयको पहलमा उनीहरूको अध्ययन व्यवस्था गरिएको हो। बाढीले दिएको पीडा मेटाउन नसके पनि बालबालिकाको शिक्षा रोक्न नदिई उनीहरूको उज्ज्वल भविष्य निर्माणमा साथ दिनु मानवीय दायित्व भएको विद्यालय व्यवस्थापनले जनाएको छ।
विद्यार्थीहरूका लागि विद्यालय पोसाक, स्कुल ब्याग, जुत्ता–मोजा, पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री उपलब्ध गराउनुका साथै आवासको समेत व्यवस्था गरिएको छ। यस अभियानमा सहयोग गर्ने सबैप्रति विद्यालयले आभार व्यक्त गरेको छ।
१५२ बालबालिकाको शिक्षा र संरक्षणको जिम्मेवारी नगरपालिकाले लिने
यसैबीच, भोटेकोशी बाढीका कारण पूर्णरूपमा अभिभावकविहीन भएका १५२ जना बालबालिकाको शिक्षा तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ।
नगरप्रमुख उपेन्द्र कार्कीको पहलमा अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य निर्माणका लागि आवश्यक वातावरण तयार गर्ने काम अघि बढाइएको नगरपालिकाले जनाएको छ।
कानुनी प्रक्रिया पूरा भएपछि ती बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेका विभिन्न बाल तथा अनाथ आश्रममा व्यवस्थापन गरी उच्च शिक्षासम्मको अवसर प्रदान गर्ने योजना रहेको जनाइएको छ।
विपद्का कारण आमाबुवा गुमाएका बालबालिकाले शिक्षा र संरक्षणसँगै माया, हेरचाह तथा अभिभावकीय साथ पाउने वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको नगरपालिकाले जनाएको छ।
‘बालबालिकाको शिक्षा रोकिँदैन, भविष्य रोकिनु हुँदैन’ भन्ने भावनासहित अघि बढाइएको यो पहलले विपद्पीडित बालबालिकाको शिक्षा निरन्तरता र भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


0 comment