काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसँगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल वा गुटउपगुटका विषय अन्त्य भईसकेको भन्दै सबैलाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका हुन्।

उनले पार्टीभित्रका असन्तुष्टि पार्टीका बैठकमा राख्न निर्देशन दिँदै सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देश समेत गरे।

अध्यक्ष ओलीले पार्टी अध्यक्षबिरुद्ध पटक पटक हमला हुने गरेको भन्दै नेतृत्वप्रति अनास्था जगाउनका लागि पार्टी एकतामा खलल पुर्‍याउन उचाल्नेहरु कुराहरुमा प्रभावित नहुने आग्रह गरे । उनले एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला नक्कली आवरणको पार्टी नभएको भन्दै साँचो कम्युनिष्ट पार्टी भएको बताए ।

देश अप्ठेरो अवस्थामा परेका बेला एमाले बाहेक अन्य कुनै दल बोल्न नसकेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनका क्रममा सुनियोजित रुपमा भयानक षडयन्त्र भएको र देशलाई नै शताव्दी पर ढकेल्ने काम भएको बताए ।

ओलीले देशमा लोकतन्त्र फर्काउने कामको नेतृत्व एमालेले गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको प्रथम पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पुस २६, २७ र २८ गते बस्ने एमालेले जनाएको छ ।