काठमाडौं - नेकपा (एमाले)को उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार लेखराज भट्टले १ हजार ४५२, रघुवीर महासेठले १ हजार ३६८ र योगेश भट्टराईले १ हजार ३४८ मत प्राप्त गर्दै उपमहासचिवमा निर्वाचित भएका हुन्। एमाले विधानअनुसार पार्टीमा तीन जना उपमहासचिव रहने व्यवस्था छ।
निर्वाचित तीनमध्ये भट्ट र महासेठ अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन्।
उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। ओली निकट नेता विष्णु रिमाल चौथो स्थानमा रहँदै १ हजार ९१ मत प्राप्त गर्न सफल भए।
त्यस्तै, पाँचौँ स्थानमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ मत पाए भने छैटौँ स्थानमा रहेका वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे। अन्तिम स्थानमा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन्।


0 comment