काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान दिन नजाने स्पष्ट गरेका छन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले आयोगमा उपस्थित हुनुपर्ने बताएका भोलिपल्ट नै ओलीले सरकारलाई असंवैधानिक भन्दै आयोगका कार्यलाई अस्वीकार गर्ने घोषणा गरेका हुन्।
ओलीले बयान दिनु–नदिनु आफूले तय गर्ने विषय भएको उल्लेख गर्दै कानुनी परिणाम भोग्न तयार रहेको बताए। उनले भने, ‘उपाध्यक्षज्यूलाई किन सञ्चो भएन, मलाई थाहा छैन। बयान दिन जाने–नजाने मेरो कुरा हो। कानुनी कुरा मलाई पनि थाहा छ, त्यसका परिणामभोग गर्ने जिम्मा पनि मेरो नै हो।’
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारप्रति असन्तोष व्यक्त गर्दै ओलीले फागुन २१ पछि राजनीतिक परिस्थितिले नयाँ मोड लिन सक्ने चेतावनी दिए।
कार्की नेतृत्वको सरकारलाई ‘असंवैधानिक’ बताउँदै ओलीले त्यसका क्रियाकलापलाई प्रतिशोधपूर्ण र गैरकानुनी भएको आरोप लगाए। ‘यो अन्तरिम सरकार होइन। राष्ट्रपतिले दिएको म्यान्डेट निर्वाचन गर्ने भन्ने हो,’ उनले भने, ‘समय गतिशील छ। फागुन २१ पछि २२ पनि आउँछ। ध्यान राखेर, होससम्हालेर चल्न म सरकारलाई सचेत गराउँछु।’


0 comment