काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नवित्दै मुलुकमा फेरी अर्को प्रतिगमन भएको बताएका छन् ।
राप्रपाले मंगलबार काठमाडौमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्यान्डेड विपरीत गएर पुरानै व्यवस्था र प्रणालीमा निर्वाचनको मिति तोकेर आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका हुन् ।
नयाँ निर्वाचन प्रणाली र शासकीय प्रणालीका साथै संवैधानिक अंगको नियुक्ति प्रक्रिया लगायत जेनजी आन्दोलनका मागलाई सम्बोधन नगरेसम्म व्यक्ति परिवर्तन भएपनि मुलुकलाई अघि बढाउन नसकिने उनले बताए । अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था अन्तर्गत निर्वाचन गराउनु भनेको समस्याको समधान नभएको जिकिर गरे ।
उनले मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिनका लागि राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरे । देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न नसक्ने भन्दै लिङ्देनले सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर नविनतम सम्झौता हुनुपर्नेमा जोड दिए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जानुको विकल्प नरहेको दाबी गरे। सबैकुरा मिलाएर जान सके पाँच वर्षभित्र देशमा आमूल परिवर्तन हुने उनले बताए ।


0 comment