काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन् । आज आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । । उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए । उक्त पार्टीका अगुवा नेता रहेका डा भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै पूर्वमन्त्री राम कार्कीले चुनाव हुँदा वा नहुँदा पनि नवगठित पार्टीको अभियान चलिरहने बताए । शिक्षा, यातायात, कृषिलगायत सबै नीतिलाई नयाँ दलले परिवर्तन गर्न चाहेको पनि उनले सुनाए । नेता कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिए। मार्क्सिज्म भनेको आफैँप्रति आलोचक हुनु हो भन्दै उनले यस्तो गुण नहुनेहरू मार्क्सवादी हुन नसक्ने जिकिर गरे ।




0 comment