काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको पछिल्लो शान्ति–सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आइतबार भक्तपुरको गुण्डुमा पार्टी–निकट प्रेस चौतारी नेपालका नेताहरूसँगको भेटमा उनले देशमा विधिको शासन कमजोर बन्दै गएको बताएका हुन्।

‘समृद्धिका कुरा पछि गरौँला, अहिले देशलाई शान्ति सुरक्षा चाहिएको छ,’ ओलीले भने। उनका अनुसार प्रहरीबाट लुटिएका हातहतियार अझै फिर्ता नआएको र कारागारबाट फरार भएका अपराधीहरूलाई सरकारले नियन्त्रणमा लिन नसकिरहेको अवस्था देशका लागि चुनौतीपूर्ण बनेको छ।

ओलीले अहिलेको परिस्थितिमा चुनाव सम्भव नभएको तर्क गर्दै भने, ‘देशको सबैभन्दा ठूलो र बलियो पार्टी चुनावबाट भाग्दैन, डराउँदैन। तर यस्तो अवस्थामा चुनाव गर्न सकिँदैन। चुनाव हुने अवस्था भए हामी जान तयार छौँ।’

उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई असंवैधानिक ठहर गर्दै त्यसलाई चुनाव गराउने अधिकार नभएको दाबीसमेत गरे।

गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै ओलीले सयौँ हतियार र अपराधी खुलेआम रहेकाले चुनावी वातावरण बन्न नसकेको जिकिर गरे।