काठमाडौं - स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमाबाट पाइने नि:शुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता नरहेको बताएकी छन् ।

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाबाट पाइने नि:शुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरे ।

निजी औषधि व्यवसायीहरु मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजक रहन उनले आग्रह गरे । मन्त्री गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रतिबद्धता जनाए ।

बिमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केही अस्पतालबाट आएको भन्दै उनले त्यसलाई छिटै समाधान गर्ने बताए । उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरे ।

मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधि नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधि उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।