काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’बीच कात्तिक २६ गते पार्टी एकता घोषणा हुने भएको छ। एकता घोषणा कार्यक्रम कात्तिक २६ गते (बुधबार) दिउँसो साढे १ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले सम्बोधन गर्ने तय भएको छ।
गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टीसहित १० पार्टीबीच एकता घोषणा भएको थियो। त्यही समयमा रावललाई पनि समावेश गर्ने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो। तर, आइतबार नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक नेपालबीच टोखामा भएको छलफलले रावललाई पार्टीमा समाहित गर्ने निर्णय गरेको हो।
स्रोतका अनुसार, पार्टी एकतापछि रावल नेकपामा छैटौं वरियताका नेता हुने सहमति भएको छ।
एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएको भन्दै रावललाई एमालेबाट निष्कासन गरिएको थियो। चार वर्षअघि सौराहामा सम्पन्न एमालेको दशौं महाधिवेशनमा उनले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए। त्यसयता रावलले ओलीको नेतृत्वशैलीमाथि लगातार आलोचना गर्दै ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका छन्।
हालैको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै रावलले अलग दल बनाउने तयारी रोक्दै नेकपामा समाहित हुने निर्णय गरेका हुन्।
नेकपामा रावलको प्रवेश ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ अन्तर्गत हुने र उक्त कार्यक्रममा शीर्ष नेताहरूले संयुक्त सम्बोधन गर्ने तयारी भएको छ।


0 comment