काठमाडौं - मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।
आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ साल कात्तिक २२ गतेका दिन प्रदेशप्रमुखले स्वीकृत गर्नुभएको छ ।”
प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।
आज प्रदेशसभामा विश्वासको मत लिन पुगेका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा घोषणा गरेका थिए । उनले आजै प्रदेशप्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिएका धिए।
मुख्यमन्त्री सोनल गत असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत असोज २९ गते प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकि थिइन्।
एक सय सात सदस्य प्रदेशसभामा सरकार गठनका लागि ५४ आवश्यक बहुमत हो । मधेस प्रदेशसभामा सत्ता गठबन्धन लोसपाको आठ, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको नौ र एकीकृत समाजवादीको सात सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उहाँलाई विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि मत दिने आश्वासन दिएको सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएका थिए ।
मुख्यमन्त्री सोनललाई मधेसका प्रदेशप्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।


0 comment