काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २१ फागुनमा तय गरिएको निर्वाचनका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्ने निर्णय गरेको छ।

चितवनमा जारी केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनका सम्भावनाबारे उल्लेख गरिएको छ। प्रतिवेदनमा कुन दल वा राजनीतिक शक्तिसँग सहकार्य हुनसक्छ भन्ने स्पष्ट गरिएको छैन।

बैठकमा सहभागी नेताहरूका अनुसार नयाँ बन्ने राजनीतिक दल र स्वतन्त्र समूहहरूसँग सहकार्यका लागि यो विकल्प खुला राखिएको हो।

तर प्रतिवेदनमा गठबन्धन गर्दा पार्टीको मौलिक पहिचान र सैद्धान्तिक आधार गुम्न नहुने स्पष्ट गरिएको छ। “नयाँ र सैद्धान्तिकरूपमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह तथा राजनीतिक दलहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य गर्न सकिनेछ,” प्रतिवेदनमा भनिएको छ, “तर गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन।”

प्रतिवेदनमा प्रतिस्पर्धी दलको आलोचना मात्र नगरी, आफ्ना नीतिहरू र दृष्टिकोणलाई सकारात्मक रूपमा प्रस्तुत गर्नुपर्ने पनि उल्लेख छ।

‘चुनावमा गठबन्धन गर्ने वा एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ। यसका फाइदा र बेफाइदाको गहिरो विश्लेषण आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिकता गुमाउने खतरा पनि रहन्छ।’