काठमाडौं - एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले एमालेमा फर्किने घोषणा गरेका छन्। माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सहभागी नहुने बताएका श्रेष्ठले आफूहरू अब एमालेमा निःशर्त फर्किन लागेको स्पष्ट पारेका हुन्।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म र रामकुमारी झाँक्री कसैसँग एकता गर्दैनौं। मूल घर पसिना बगाएर बनाएको एमाले नै हो, अब त्यही घर फर्किने अभियान सुरु गरेका छौं।’

श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरूलाई एमालेमा फर्किँदा कुनै पद वा विशेष सर्त नचाहिएको समेत स्पष्ट पारे। ‘निशर्त हामी एमालेमा फर्किँदैछौं। हामीलाई मूल घरमा केही चाहिएको छैन,’ उनले भने।

उनका अनुसार पार्टी एकता प्रक्रियामा असन्तुष्टि रहेका अन्य नेताहरूलाई पनि एमालेमा फर्किने अभियानमा सहभागी गराउने तयारी भइरहेको छ।