काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान नदिन सबैले सचेत रहनुपर्ने बताएकी छन्।

सोमबार बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले आन्दोलनले उठाएका सुशासन र परिवर्तनका मुद्दा निरन्तरता पाउनुपर्ने धारणा राखेकी हुन्।

मन्त्री गौतमका अनुसार केएमसी अस्पतालले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको छ। तीमध्ये २ जना अहिले पनि अस्पतालमा उपचाररत छन्।

उपचाररतमध्ये एक महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको र अर्का एक जनालाई गोली लागेको उनले बताइन्। दुवैको अवस्था सुधारोन्मुख रहेको पनि उनले जानकारी दिइन्।

‘केएमसीले ८३ जना जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरिसकेको रहेछ,’ मन्त्री गौतमले भनिन्, ‘अहिले मैले दुई जना बिरामी हेरेँ, अरू सबै निको भएर फर्किएका रहेछन्। एक महिलामाथि पेट्रोल बम प्रहार भएको रहेछ, त्यो देख्दा साह्रै दुःख लाग्यो। अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ, उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ। उपचारमा अस्पतालले निकै राम्रो काम गरेको रहेछ।’

उनले सुशासन र उत्तरदायित्वका मुद्दा हामी कसैले पनि बिर्सनु नहुँने बताइन् ।