काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताएका छन् ।
आइतबार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले आफूले गर्दै नगरेको काम गर्यो भनेर दाहालले झुट बोलेको प्रष्टयाए । अध्यक्ष ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताए । अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रमाण देखाउन पनि दाहाललाई चुनौती दिए ।
उनले भने,‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन । अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर ।’ उनले वर्तमान सरकार असंवैधानिक रहेको पनि दोहोर्याए ।
यसैबीच,ओलीले नेपाली सेनाको सुरक्षामा बस्दा मोबाइल सिज गरिएको खुलासा गरे । प्रधानमन्त्रीमा सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै आफूले मोबाइल पाएको सुनाए। अध्यक्ष ओलीले एमालेभित्र नेतृत्वको अभाव नरहेको भन्दै पार्टीभित्र थुप्रै आकांक्षी भएको बताए।


0 comment