काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि आयोगले बोलाएको भन्दै सहजै उपस्थित भएर बयान दिने प्रवृत्ति आफूमा नरहेको बताएका छन्।
आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने,‘केपी ओली सोझो छ भन्दैमा, जसले जहाँ जहाँ आयोग बनाउँछ, जसले जहाँ सोध्छ, त्यहीँ लुरुलुरु गएर बयान दिने काम हो? त्यस्ता काम म गर्दिनँ। कुनै बयानमा आफैंलाई धोका दिने काम म गर्दिनँ।’
जेनजी आन्दोलनपछि पहिलोपटक सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै ओलीले आफू देश र जनताप्रति पूर्णतः बफादार रहेको दाबी गरे। उनले भने, ‘देश अनिश्चयतर्फ गइरहेको छ। मेरो बफादारिता देश र जनताप्रति हो, कसैलाई मन परे वा नपरे पनि। मूल्य र मान्यता मेरा निष्ठाका विषय हुन्।’
ओलीले आफू सत्य पक्षमा उभिइरहेको र त्यही मार्गमा लागिरहने पनि बताए। त्यसक्रममा उनले फेरि एकपटक आफ्नो सम्पत्ति र आम्दानीको खुला छानबिन गर्न सरकार र संचारकर्मीहरूलाई खुला चुनौतीसमेत दिए। ‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’उनले भने,‘पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले मेरो सम्पत्तिको छानबिन गरे हुन्छ।’
सरकारले आफ्नो बैंक खाता रोक्का गर्न लागेको खबरप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘बैंक खातामा जम्मा २०–२५ लाख रुपैयाँ होला। त्यो त बैंकले एकछिनमै हिसाब दिन्छ। विश्वभरका सरकारलाई पत्र पठाएर पनि सम्पत्तिको हिसाब मगाउन सकिन्छ।’
ओलीले सत्यतथ्य स्थापित होस् भन्ने चाहनामा आफू स्पष्ट र निडर भएर प्रस्तुत भइरहेको बताएका छन्। ‘सदाचारको कुरा हो भने सबैको छानबिन गरौं, बिचौलिया र ब्ल्याकमेलरको पनि। देश मेरो मात्र होइन,’ उनले जोड दिए।


0 comment