काठमाडौं - माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग एकताको ढोका खुला रहेको बताएका छन्। तर उनले केपी शर्मा ओलीको नेतृत्वमा रहँदासम्म यस्तो एकता सम्भव नरहेको स्पष्ट पारे।
धादिङको बेनीघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
कार्यक्रममा युवा तथा पार्टी नेताकार्यकर्तासँग संवाद गर्दै उनले आगामी चुनावलाई माओवादीको प्रमुख राजनीतिक एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो,’ उनले जोड दिए।
त्यसैगरी, प्रचण्डले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी समेत दिए।
कार्यक्रममा सहभागी युवासँगको संवादमा उनले माओवादी विचारप्रति नयाँ पुस्ताको झुकाव बढिरहेको दाबी गरे।
उनले पार्टी नेताकार्यकर्तालाई आगामी चुनावका लागि योजनाबद्ध रूपमा तयारी थाल्न निर्देशनसमेत दिए।
एमाले नेतृत्वमा सम्भावित परिवर्तन आएमा बाम शक्तिहरूबीच एकताको नयाँ सम्भावना खोलिने संकेत उनको अभिव्यक्तिबाट झल्किएको छ।


0 comment