काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आज बस्ने कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने भएको छ ।
राप्रपाका संस्थापन इतरका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती कुमारी शाहीले आज बिहान बोलाइएको बैठक बाहिस्कार गरेका हुन् । उनीहरुले ४ बुँदे माग अघि सार्दै बैठक बहिष्कार गर्ने बताएका छन् ।
साथै उनीहरुले महाधिवेशनको मिति तोकिनुपर्ने,विधान विपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने,प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनु पर्ने उनीहरूको माग छ ।
राणाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएर बैठकमा नआउने जानकारी गराएका हुन् ।
सार्वजनिक रुपमा बैठक बोलाएन भन्दै हिड्ने, पार्टीको बैठक राख्दा बैठकमा अनुपस्थित हुने र पुर्व शर्त राख्ने चरित्र गैरराजनीतिक र गैरजिम्मेवार भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
आजको बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्नुका साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गरिने प्रवक्ता श्रेष्ठले बताए । साथै साङ्गठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा पनि बैठकमा छलफल गरिने उनको भनाइ छ।


0 comment