काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलहरूको बैठकमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ८ बुँदे माग राखेका छन् ।
बैठकमा उनले जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद पुनः स्थापनाको मुद्दालाई अघि बढाउन सभामुखलाई सुझाव दिएका छन् ।
उनले जेनजीका माग पूरा गर्ने सुनिश्चितता हुनुपर्ने बताएका छन् । साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,प्रदेश संरचना खारेज, गैर दलीय स्थानीय तह, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द,राष्ट्रिय एकता कायम गर,भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन,प्रतिनिधिसभा उम्मेदवारको उमेर हद घटाउने,अनलाइन मतदान प्रणालीको व्यवस्था हुनुपर्ने भनी ८ बुँदे माग अघि सारेका छन् ।
संसद पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि सभामुखले आज १० राजनीतिक दललाई बोलाएर छलफल गरेका हुन् ।
राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसदबाट नआएसम्म पुनःस्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ ।
यी संरचनागत र सुधारात्मक पहल विना गरिने कुनैपनि निर्वाचनले देशको गन्तव्यमा तात्विक फरक पार्नेछैन भन्दै यी मागहरुमा राष्ट्रिय सहमति जुटाउन, राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन र कार्यान्वयनको दिशामा अघि बढ्न मार्गप्रशस्त गर्न निर्णायक पहलकदमी लिनका लागि सुझाव दिएका छन् ।
उनले राखेका मागहरू:
१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीः राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्नका लागि वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने ।
२. प्रदेश संरचना खारेजः राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएकाले वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने । संघीयतालाई केन्द्र र ‘बलियो स्थानीय तह’ मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनुपर्ने ।
३. गैरदलीय स्थानीय तहः स्थानीय स्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैरदलीय (दलगत राजनीतिमुक्त) स्थानीय तहको अवधारणा लागू गरिनुपर्ने ।
४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्दः संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनुपर्ने ।
५. राष्ट्रिय एकता कायम गरः देशमा राष्ट्रिय एकता, सद्भाव कायम गर्नुपर्ने ।
६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुनः भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्न सक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनुपर्ने ।
७. प्रतिनिधिसभा उम्मेदवारको उमेर हद घटाउनेः १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको हुँदा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि तोकिएको उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनुपर्ने ।
८. अनलाइन मतदान प्रणालीको व्यवस्थाः विदेशमा रहेका करोडौँ नेपाली श्रमिक, विद्यार्थी र पेशाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाइनुपर्ने ।


0 comment