काठमाडौं - सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनः स्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहितका चार दल सहभागी भएनन् ।

वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहित जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएका हुन् । बैठकमा विघठित प्रतिनिधिसभाका सबै दलका प्रमुख सचेतकहरूलाई बोलाईएको थियो ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलका पूर्व प्रमुख सचेतकहरु बैठकमा उपस्थित छन् । पार्टीको सचिवालय बैठक बसिरहेकाले जान नपाएको रास्वपाले बताएको छ ।

आजको बैठकमा १० दललाई बोलाइएकामा ६ दलका प्रतिनिधि मात्रै उपस्थित भएका छन् ।

बैठकमा सभामुख घिमिरेसँगै राखिएको एउटा कुर्सी खाली देखिएको छ । सभामुखको सचिवालयका अनुसार उक्त कुर्सी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका लागि राखिएको थियो । दाहाललाई आजको वैठकमा बोलाइएको भए पनि आफू अर्को बैठकमा रहेकाले आउन नपाएको उनले जानकारी गराएका छन् ।

सभामुखको छेउमा सँधै एउटा कुर्सी रहने गरेको र विशिष्ट व्यक्तित्वहरु आउँदा बस्ने गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए । त्यो कुर्सी सँधै हुन्छ । विदेशी कुटनीतिज्ञ, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरु आउँदा त्यहाँ राख्ने गरिएको छ ।

प्रतिनिधिसभा पुरस्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले राजनीतिक दलहरूको राय माग्न बैठक बोलाएका हुन् ।

सभामुखले भोली पुर्वमहान्यायधिवक्त्ता, सर्वोच्च बार र नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग छलफल गर्दैछन् ।