काठमाडौं - एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको सोमबार सम्पन्न बैठकले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षहरूलाई गम्भीर ध्यानाकर्षण गराएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

पार्टीले निर्वाचन आयोगले कात्तिक मसान्तसम्म चलाइरहेको नयाँ मतदाता नामावली दर्ता अभियानमा सबै नागरिकलाई सहभागी हुन अपिल गरेको छ। यसका लागि पार्टी र जनवर्गीय संगठनका सबै कमिटीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।

बैठकले गणतन्त्र, संविधानको रक्षा र विश्वसनीय निर्वाचनको वातावरण निर्माणका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूसँग संवाद र सहकार्य अघि बढाउने निर्णय पनि गरेको छ। साथै, पार्टीले हालको राजनीतिक संकट समाधानका लागि समेत पहल गर्ने जनाएको छ।

सचिवालय बैठकले माओवादी केन्द्रसँग चलिरहेको पार्टी एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुर्‍याउने निर्णय गर्दै, एकतासम्बन्धी वार्ता प्रक्रालाई तीव्र बनाउन दसौं बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिएको छ।

यसैबीच, नेकपा समाजवादीले आउँदो असोज २९ गते केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने र आवश्यक राजनीतिक निर्णयहरू लिने तयारी समेत गरेको छ।