काठमाडौं - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ। रुघाखोकीका कारण अध्यक्ष ओली अस्वस्थ भएपछि शनिबारका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो। शुक्रबारदेखि सचिवालय बैठक सुरु गरिएको हो।
शुक्रबारको बैठकमा ९ जना पदाधिकारीले आ–आफ्नो धारणा राखेका थिए। तीमध्ये ६ जना पदाधिकारीले अध्यक्ष ओलीलाई पार्टीको नेतृत्व छाड्न आग्रह गरेको स्रोतले जनाएको छ। उनीहरूले पार्टीको सुदृढीकरण र भावी रणनीतिका लागि नयाँ नेतृत्व आवश्यक रहेको तर्क गरेका थिए।
आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ। साथै बैठकमार्फत पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिनेछ। एमाले सचिवालय बैठक पार्टीभित्रको आन्तरिक विमर्श र भावी रणनीतिका हिसाबले निर्णायक मानिएको छ।


0 comment