काठमाडौं - माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबाट जेन–जी आन्दोलन सुरु हुनुअघि दुई ट्रकमा दुई करोड रुपैयाँ सारिएको भनिएको प्रचारप्रति सचिवालयले खण्डन गरेको छ। सचिवालयले उक्त आरोपलाई निराधार भन्दै प्रमाण पेश गर्न सार्वजनिक चुनौती दिएको छ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं।’

पूर्वएआईजीको दाबीपछि विवाद चुलियो

प्रचण्ड निवासबाट पैसा सारिएको विषयमा नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब अन्तर्वार्तामा दाबी गरेपछि यो विवाद चुलिएको हो। उनले आन्दोलन सुरु हुनु अगाडि नै प्रचण्डको निवासबाट पैसा लोड गरी अन्यत्र सारिएको बताएका थिए।

भदौ २४ मा प्रचण्ड र उनका छोरीहरू रेणु दाहाल तथा गंगा दाहालको घरमा भएको आगजनीपछि यो विषय झनै चर्चामा आएको हो। घटनापछि सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत विभिन्न आरोप–प्रत्यारोप हुन थालेका छन्।

‘साइबर अपराध अन्तर्गत अनुसन्धान होस्’

सचिवालयले यस्ता प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै साइबर अपराध अन्तर्गत अनुसन्धान गरिनुपर्ने माग राखेको छ। ‘डिजिटल माध्यममार्फत् गरिएको यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत छन्। त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।