काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् ।
गुन्डुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले यस्तो घटनाको छानबिन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताएका हुन् । उनले आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न् गरे । सम्पत्ति छानबिनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पत्ति छानबिन गर्न मान्ने हो ? भन्दै प्रश्न गरे । नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको बताए ।
उनले भने, ‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन १० पटक गर सम्पत्ति छानबिन । म सोध्न चाहन्छु मन्त्रीज्यूहरु तपाईंहरको सम्पत्ति छानबिन गरौँ ? आँट गर्नुहुन्छ, आफ्नै सम्पत्ति छानबिन गराउने ? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने गराउनु होला । पहिला नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरुको आयोग बनाएर गज्जवको ड्रामा गर्नुहुन्छ । पहिला नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यौँ भन्ने नाटक गर्ने यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन । मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर । तर बुझ्नुस् तपाईंहरुले नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनपनि मञ्जुर छैन भने गम्भीर प्रश्नहरु उहाँहरुका अभिव्यक्तिहरु, आयोगमा राखिनु भन्दा अगाडि, आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? उहाँहरुले हामी निष्पक्ष छौँ भन्न सक्नुभएको छैन । लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस् । तपाईंहरुको प्रतिवेदन लेख्नुस् । बुझाउनुस्, फैसला गर्नुस् । एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन । मान्दैनौँ हामी, गर्नुस्, केके गर्नुहुन्छ ?’
अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै प्रश्न गरे ।


0 comment