काठमाडौं - नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेको छ । बुधबार जारी परिपत्रमार्फत केन्द्रीय बैंकले सेयर बजारमा तरलता र लगानी प्रवाह बढाउने उद्देश्यले महत्वपूर्ण परिमार्जनहरू गरेको हो ।

राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा हटाउने निर्णय गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाबाट अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै धितो कर्जा लिन सकिने व्यवस्था थियो । अब व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट सीमाविहीन धितो कर्जा लिन सक्नेछन् ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि पनि घटाएर ६ महिना गरिएको छ । यससँगै, सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ । केन्द्रीय बैंकले गरेको यो निर्णयले पुँजी बजारमा लगानी सहज बनाउने र बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरूले राष्ट्र बैंकको यो कदमलाई बजारमैत्री नीतिका रूपमा स्वागत गरेका छन् ।