काठमाडौं - एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए । राजनीतिक पार्टीहरुको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको बताए । जेनजी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको बताए । आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको बताए ।
उनले भने, ‘राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका दुर्दिनहरु अझै बाँकी छन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ जाँदैछ । राजनीतिक पार्टीहरुको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको छ । राजनीतिक पार्टीभित्र सम्भवतः सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरु नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म । अहिले जे घटनाहरु घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन । कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो । नत्र भने घरहरु जल्छन् भन्नेकुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्नेकुरा देखिन्थ्यो । त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ ।’
महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सिमित रहेको बताए । राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको बताए।


0 comment