काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने बताएका छन् ।

बडा दसैँको अवसरमा आज  एक शुभकामना सन्देश दिँदै उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत् बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित हुने बताएका छन् ।  उनले सन्देशमा नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ भन्नहुँदै यो विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना पनि गरेका छन् ।

देउवाले शुभकामना सन्देशमा भनेका छन् "गत भाद्र २३ र २४ गते देशमा जेएनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा कयौं युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका छन् । नेपाल आमाका ती बीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । प्रदर्शनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भाद्र २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटबाट खर्बैंको क्षति भएको छ । नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुःखद घटनाको रूपमा रहेको छ ।"

देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई समुदाय, संस्थाहरू, परिवार र व्यक्ति—व्यक्ति बीचको एकतालाई अझ मजबुत बनाउन हामीलाई प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

उनले नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।