काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताइन् । उनले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताइन्। प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले भनिन्, ‘आन्दोलनको क्रममा गोली हानेर युवाहरुको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । अहिले पनि थुप्रै व्यक्तिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


0 comment