काठमाडौं - सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।
आगजनी र तोडफोडबाट ध्वस्त भएको संसद् भवनको आज (बिहीबार) अवलोकनका क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा सभामुखले यस्तो टिप्पणी गरेका हुन् ।‘राजनीतिक निकासका लागि सबै पक्ष तयार हुनुपर्छ,’ उनले भने, ‘संसद् विघटन नगरी वैकल्पिक उपायहरू खोजिएको भए राम्रो हुन्थ्यो।’
संसद् भवनमा भएको तोडफोड तथा आगजनीप्रति सभामुख घिमिरेले गहिरो दुःख व्यक्त गरे। ‘जेनजी आन्दोलनका क्रममा अत्यन्तै पीडादायक घटना घट्यो,’ उनले भने, ‘संसद् भवनसहितका संरचना ध्वस्त भए। अब हामीले यस क्षति र हानीबाट उठेर अघि बढ्नुपर्छ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अहिले अन्तरिम रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ। सभामुख घिमिरे अन्तरिम सरकारका मन्त्रीहरुको शपथ ग्रहण समारोहमा समेत उपस्थित भएनन् ।


0 comment