काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्को समयमा सरकारलाई पूर्ण रुपमा साथ दिएर अघि बढ्ने बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा भोटेकोसी बाढी पछि उत्पन्न विपत व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा आयोजित बैठकमा सभापति थापाले विपद्को घडीमा सरकारसँग काँधमा काँध मिलाएर पूर्ण रूपमा साथ दिने बताएका हुन् ।
उनले प्रमुख प्रतिपक्ष दलको नाताले सरकारका कमिकमजोरीलाई सुधार गर्न औंल्याइदिने जिम्मेवारी पूरा गर्ने धारणा राखे । हाल तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन स्पष्ट कार्यविभाजन हुनुपर्ने भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै टिमको रूपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे । सभापति थापाले कुनै पनि भ्रामक वा मिथ्या सूचना फैलाउने काममा नलाग्न पार्टी पंक्तिलाई निर्देशन दिए ।
बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा पार्टीका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको छ भने उद्धार र शव व्यवस्थापनमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
प्रभावित तथा पीडितहरूका लागि खाना, लत्ताकपडा/बन्दोबस्ती, र स्वास्थ्य उपचारको तत्काल उचित व्यवस्था हुनुपर्ने, विपद् प्रभावित क्षेत्रका बालबालिकाहरूको शिक्षासँग जोडिएका समस्याहरूलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।


0 comment