काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा सरकारले सदनमार्फत तथ्य र यथार्थ जानकारी दिनुपर्ने बताएकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकपछि थापाले भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा आम जनताको विश्वास सदनप्रति हुने भएकाले सदनमार्फत आधिकारिक तथ्य र यथार्थ जानकारी प्रवाह गर्नुपर्ने बताएकी हुन् । उनले प्रभावित क्षेत्रमा राहत सामग्री धेरै पुगिसकेको तर यसको उचित व्यवस्थापन मात्र खाँचो रहेको उल्लेख गरिन् । 

बेत्रावतीको एक घरमा २४ जनाको शव भेटिएको जस्ता हृदयविदारक घटनाहरूले राज्य र सहयोगीहरू पुग्न नसकेका अझै धेरै स्थानहरू बाँकी रहेको देखाएको उनको भनाइ छ । उनले तत्कालका लागि उद्धार र राहत कार्यमा कुनै अवरोध नहोस् भन्नाका लागि २–३ दिन सरकारलाई काम गर्न दिनुपर्ने र काममा बाधा पु¥याउन नहुने जिकिर गरिन् ।

त्यस्तै प्रभावित स्थानमा भिडभाड कम गर्न फिल्डमा काम गर्ने छुट्टै टोली खटाइएको र अन्य सांसदहरूले सदनमार्फत नीतिगत सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन्। थापाले मुख्य राजमार्ग बन्द हुँदा आवतजावतमा कठिनाइ भएकोले सरकारले तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने बताइन् । मानवीय विपद् र संकटको घडीमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि (महङ्गी) नगर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीहरूलाई उनले आग्रह छ ।