काठमाडौं - नेकपाका राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले विपद्का बेला सरकारको उद्धार, राहत तथा व्यवस्थापन कार्य प्रभावकारी हुन नसकेको भन्दै गृह प्रशासन र सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सुवेदीले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारले सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने बताए। उनले गृहमन्त्री सुधन गुरुङलाई उद्धारस्थलमै टनेल खोस्रेर बस्नुभन्दा सुरक्षा फोर्ससँग समन्वय गरी उद्धार, राहत र व्यवस्थापनलाई प्रभावकारी बनाउन सुझाव दिए।
“गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन, सेक्युरिटी फोर्ससँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने र राहत सामग्रीलाई प्रभावकारी बनाउने सरकारको काम हो,” सुवेदीले भने, “त्यसमा पनि मुख्य रूपमा गृह मन्त्रीको काम हो।”
उनले हालैका विपद्का घटनामा नागरिकहरू साधनविहीन अवस्थामा पर्नुपरेको उल्लेख गर्दै सरकारको उपस्थिति सामाजिक सञ्जाल र समाचारमा देखिएजस्तो फिल्डमा प्रभावकारी नरहेको आरोप लगाए। उद्धार, राहत र पीडितको व्यवस्थापनमा सरकारको उपस्थिति कमजोर देखिएको उनको भनाइ थियो।
सुवेदीले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गर्दै घरबारविहीन भएका नागरिकको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
उनले देशमा तीन तहका सरकार रहे पनि संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग विपक्षी दलसँग जस्तो व्यवहार गरेको गुनासो आफूले सुनेको बताए। संघीय सरकारले यस्तो प्रवृत्ति त्यागेर प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नुपर्ने उनको भनाइ थियो।
विगतका भूकम्प, कोभिड–१९ लगायतका विपद्का समयमा राजनीतिक दल तथा देश–विदेशमा रहेका नागरिकले प्रत्यक्ष रूपमा पीडितलाई सहयोग गरेको स्मरण गर्दै सुवेदीले अहिलेको विपद्मा पनि पीडितको घरदैलोमा पुगेर प्रत्यक्ष राहत पुर्याउनु सबैको साझा दायित्व भएको बताए।
उनले जारी महाविपत्तिको सामना गर्न राष्ट्रिय एकता कायम गर्दै सरकार, राजनीतिक दल, सुरक्षा निकाय, संघसंस्था तथा नागरिक समाज सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।


0 comment