काठमाडौं - राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गरेका छन् ।
बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका कमला पन्तले यही भदौ १० गते भएको विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गरिन् । उद्धार र खोजका प्रयासबारे सरकारले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै उनले यति ठुलो प्राकृतिक विपत्तिको सामनाका लागि राष्ट्रिय एकता र साझा पहल हुनुपर्ने बताइन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताए । ठूला र धनी मुलुकले प्रमृतिमाथि गरेको दोहन र तापक्रम बढेका कारण यस्तो समस्या आएका विषयमा विश्व समुदायलाई बुझाउनुपर्नेमा जोड दिए । उनले घाइते र विस्थापितमध्ये पनि सुत्केरी र बालबालिकालाई बेग्लै ढङ्गले सुरक्षित स्थलमा राख्न सुझाव दिए ।
नेकपा (एमाले) का डा. प्रेमप्रसाद दङ्गालले आफूहरू विपद्मा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्धस्तरमा लाग्न आग्रह गरे। उनले नदी तटमा अहिले पनि शवहरू यत्रतत्र छरिएर रहेको पाइएकाले तीनै तहका सरकारबीचको समन्वयन बढाएर काम गर्नुपर्ने बताए । उनले जलवायु न्यायको पहल गरी पृथ्वी र मानव सभ्यताको रक्षार्थ लाग्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले छिमेकीलगायत विश्वस्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताउँदै दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गरे ।


0 comment