काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ एसइईको नतिजा प्रकाशित गरेको हो ।

सार्वजनिक नतिजा अनुसार ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ तथा ३.२ देखि ३.६ को संख्या ८१ हजार ३८५ जना रहेका छन् । ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् अर्थात् यो प्रतिशतमा परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डको कार्यालयमा एसइई नतिजा सार्वजनिक गर्न मध्याह्न साढे १२ बजे पहिलो बैठक बसेको थियो । उक्त बैठकको क्रममा नतिजाको प्राविधिक पक्ष परीक्षण गरिएको थियो । त्यस्तै अहिले साँझ पौने ६ बजेदेखि चलेको बैठकले राति साढे ७ बजे मात्र नतिजा प्रकाशित गरेको हो ।

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।