काठमाडौं - बैंक तथा फाइनान्स कम्पनीहरुले सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा १६ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी सुदूरपश्चिम प्रदेशको आव ०८०/८१ वार्षिक प्रतिवेदनअनुसार २०८१ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा एक दशमलव ३१ प्रतिशतले घटेर १६ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १० प्रतिशतले बढेको थियो ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १९ दशमलव ३७ प्रतिशत प्रवाह भएको छ । सबैभन्दा कम शून्य दशमलव शून्य तीन प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव ८१ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६ दशमलव ४५ प्रतिशत, कञ्चनपुरको २० दशमलव ७९ प्रतिशत, डडेल्धुरा, डोटी, बझाङ, दार्चुला, बैतडी, अछाम तथा बाजुराको अंश क्रमशः तीन दशमलव ४४ प्रतिशत, एक दशमलव ८६ प्रतिशत, एक दशमलव ८२ प्रतिशत, एक दशमलव ७४ प्रतिशत, एक दशमलव ४८ प्रतिशत, एक दशमलव ३४ प्रतिशत र एक दशमलव शून्य सात प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार क्षेत्रगत औद्योगिक कर्जातर्फ भने २०८१ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा चार दशमलव ७९ प्रतिशतले घटेर २५ अर्ब ६० करोड १८ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव ७० प्रतिशतले बढेको थियो ।

कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६ दशमलव ७५ प्रतिशत रहेको छ । समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी तीन दशमलव २० प्रतिशतले बढेको छ भने भने विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी १२ दशमलव १३ प्रतिशतले घटेको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४१ दशमलव २६ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २८ दशमलव ३५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा २१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा सात दशमलव ५५ प्रतिशत, विद्युत, ग्यास तथा पानी उद्योगमा १ प्रतिशत र खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ८० प्रतिशत अंश रहेको छ ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा सुदूपश्चिम प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४४ प्रतिशत रहेको छ । बाजुरा जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव ४१ प्रतिशत रहेको छ ।

यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुला तथा बझाङको अंश क्रमशः १६ दशमलव ६५ प्रतिशत, एक दशमलव ६७ प्रतिशत, शून्य दशमलव ९४ प्रतिशत, शून्य दशमलव ६६ प्रतिशत, शून्य दशमलव ५० प्रतिशत, शून्य दशमलव ४९ प्रतिशत, र शून्य दशमलव ४२ प्रतिशत रहेको छ ।