काठमाडौं - गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन महेन्द्रनगरले आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखक नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए ।
मुलुकमा स्थायित्व र दिगो विकासका लागि सरकारले सोही अनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए ।
मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको गृहमन्त्री लेखकको भनाइ छ ।
उनले लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । अधिवेशन बोलाउनेबित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुने र पछि प्रतिस्थापन गर्ने कानुन बन्ने उनले बताए ।
गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह चाँडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले जानकारी दिए ।


0 comment