काठमाडौं - एनसेलले आफ्ना सधैं अन प्याकहरु लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब विनाकुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।

पुस २५ गतेबाट सुरु भएको यो योजनाअन्तर्गत सधैं अनका रु. ३९९ बाट सुरु हुने बेस्ट र रु. ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतलब प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउँछन् ।

सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्न एनसेलले यो योजना लागु गरेको हो । रु. ३९९, रु. ४९९, रु. ५९९ का बेस्ट प्याक र रु. ७९९, रु. ९९९ र रु. १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई पहिला नै अनलिमिटेड युट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टकटाइम पाउँदै आएका छन् ।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आमनेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु हो ।