काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै उनले चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने उल्लेख गरे । उनले उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरे ।
उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचारसम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताए ।
‘उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोसिस गरौं । पूर्वाधार विकासमा पनि व्यवस्थित गर्नेगरी हामीले अघि बढौं । ठुला-ठुला भवनभन्दा साना-साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ । चस्माको कुरा गर्नुभएको छ । चस्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौं,’ मन्त्री पौडेलले भने, ‘अरु पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरु बाहरिबाट किनेर ल्याउँछौं, सहयोगबाट पनि ल्याउँछौँ । त्यस्ता सीमानमा भन्सार छुट गर्ने व्यवस्था छ ।’
मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताए ।


0 comment