काठमाडौं - कैलालीका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । 

नयाँ अन्न भित्र्याइसकेपछि  प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो  समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ ।  

थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोग व्याधिले सताउने हुँदा त्यस्ता रोगव्याधि नलागोस् भनेर पूजा गरिन्छ । भजहर पूजा ग्रीष्म ऋतुको पूर्वसन्ध्यामा हुने गरेको छ ।  

अन्नसँग जोडिएकाले पनि लवाङ्गी पूजाको महत्व छ । विशेषगरी कैलालीको घोडाघोडी मन्दिरमा थारूहरूको लवाङ्गी पूजा हुने गरेको छ । 

पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठूलो देउथान घोडाघोडीलाई मानिन्छ । घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरीघोरा देउथानका रूपमा मान्दै परापूर्वकालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको चौधरीले बताउनुभयो । 

देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो । 

लवाङ्गी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो ।