काठमाडौं - मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो  संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ ।

लिगको दोस्रो संस्करण भएको आठ वर्षपछि तेस्रो संस्करण हुने भएको हो ।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मधेश प्रिमियर लिग प्रालिका अध्यक्ष इन्जिनियर सञ्जीव नारायण यादवले तेस्रो संस्करणको खेल आगामी चैत ५ गतेदेखि गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

सन् २०१५ मा सुरु भएको एमपीएलको निरन्तर दुई संस्करण आर्थिक समस्याका कारण हुन नपाएको बताउनुभयो । दुई संस्करणमा आयोजकलाई घाटा खेप्नुपरेको र कोरोना महामारी लगायत कारणले निरन्तरता दिन नसकिएको उहाँले बताउनुभयो ।

तेस्रो संस्करणका लागि आइतबारदेखि एक महिनासम्म खेलाडीको नाम रजिष्ट्रेशन सुरु गरिएको प्रालिका सचिव इन्जिनियर तीर्थ दासले बताउनुभयो । 

तेस्रो संस्करणमा अक्सनबाट खेलाडी छनोट गरिने र  प्रत्येक टिममा झापाबाट कञ्चनपुरसम्मका तराई क्षेत्रबाट सात खेलाडी तथा नेपालको अर्को ठाउँबाट चार जना खेलाडी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टोली सहभागी गराइनेछ ।

प्रतियोगिताका खेल राजविराज, जनकपुरधाम र वीरगञ्जमा सञ्चालन गर्ने प्रयास भइरहेको आयोजकले जनाएको छ । 

वीरगञ्ज र जनपुरधाममा खेलिने अवस्था नमिले सबै खेल राजविराजमा खेलाइने पनि आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर बजेटका लागि पहल गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।