काठमाडौं - यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ ।

दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रा मध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेको उहाँले बताउनुभयो । सरदर मूल्य अनुसार १६ करोड बराबरको च्याङ्ग्रा बिक्री भएका छन् ।

गत वर्ष सात हजार भेडा च्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडा च्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेका कारण यसपालि भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीहरूले बताएका छन् । 

जडीवुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । 

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा १० हजार कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रा पालन हो ।