काठमाडौं - नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ ।
सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।
इतिहासकार दिनेशराज पन्तले फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताउनुभयो । खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको उहाँको भनाइ छ ।
फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।
विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो । काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए ।
गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।
गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौँ ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइ लगायत विभिन्न समस्याका कारण २० औँ शताब्दीको मध्यतिरबाट काठमाडौँ ल्याउन रोकियो ।
विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौँबाट करिब ३० किमि पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो ।
वि.सं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा वि.सं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडी मार्फत हनुमानढोका ल्याउन थालिएको हो।
0 comment