काठमाडौं - राजधानीको नारायणचौर क्षेत्रबाट निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोज्ने क्रममा भएको झडपपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूमा अध्यक्ष थापासँगै ललितपुर जावलाखेलकी शिला राणा, भक्तपुर थिमिका रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली, राजीव झा र भक्तपुरको चाँगुनारायणका सरोज तिमिल्सिना रहेका छन् ।
उनीहरूलाई नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटारतर्फ अघि बढ्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेका सबै जनालाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।


0 comment