काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गर्न सरकारलाई पत्र मार्फत सिफारिस गरेको छ।
बहालवाला कर्मचारीहरूलाई सिधै सम्पत्ति शुद्धीकरण विभागबाट निलम्बन गर्ने प्रचलन नभएकाले समितिले सरकारलाई पत्राचार गरेको हो।
सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले पोखरा विमानस्थलको निर्माणमा ठूला अनियमितता भएको भन्दै त्यसमा संलग्न देखिएका पदाधिकारीहरूको नामसहितको प्रतिवेदन लेखा समितिमा पेस गरेको थियो। समितिले सो प्रतिवेदन अनुमोदन गर्दै पदमा बसेका दोषी देखिएका अधिकारीहरूलाई निलम्बन गरी छानबिन गर्न सरकारलाई पत्र पठाएको हो।
प्रदिप अधिकारी २०७१ देखि २०७४ सम्म विमानस्थल आयोजनाका प्रमुख थिए भने हाल प्राधिकरणको महानिर्देशकको रूपमा कार्यरत छन्।
उनसँगै आयोजना प्रमुख विनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, प्रविन न्यौपाने, राजेन्द्रप्रसाद पौडेल र बाबुराम पौडेलको नामसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले उनीहरूलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।


0 comment