काठमाडौं - रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट स्याउ बोक्ने गाडीमार्फत तस्करी गरिँदै गरेको साढे ७ किलो सुन प्रहरीले बरामद गरेको छ।

केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट सुन फेला परेको हो। गाडीका चालक २४ वर्षीय किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ। उनी रसुवाका स्थायी बासिन्दा हुन्।

घटनाबारे जानकारी दिँदै रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले बरामद गरिएको पहेँलो धातु सुन नै भएको आशंका गरिएको र परीक्षणपछि पुष्टि हुने बताए।

बरामद सुनसहितको टोली हाल सदरमुकामतर्फ फर्किंदैछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।