काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले टेबल टेनिस खेल्दै युवा खेलाडीलाई उत्साहजनक सन्देश दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओली आफैँ टेबल टेनिस खेल्न तम्सिए।

‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता–२०२५’ मा पदक विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्ने क्रममा प्रधानमन्त्री ओलीले केहीबेर उनीहरुसँग टेबल टेनिस खेलेर प्रोत्साहन दिए। उनले खेलाडीलाई उच्च मनोबलका साथ विश्व प्रतिस्पर्धामा जुट्न शुभकामना पनि दिए।

नेपाल टेबल टेनिस संघद्वारा गत २४ देखि २७ एप्रिलसम्म राजधानीमा आयोजित प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १२ पदक हात पार्न सफल भएको थियो। यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण जितेको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता र सहभागी खेलाडीलाई नगद पुरस्कार समेत प्रदान गरेका थिए। प्रधानमन्त्रीको सक्रिय सहभागिता र सम्मानले टेबल टेनिसजस्ता व्यक्तिगत खेलहरूमा युवाको आकर्षण अझै बढ्ने अपेक्षा गरिएको छ।