काठमाडौं - तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी हानाहान हुँदा ३ जना घाईते भएका छन् ।
जिल्ला सदरमुकाममा आज दिउँसो अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेका थिए । कार्यक्रम गरिरहेको समुह र कार्यक्रम विथोल्ने समुहबीच कार्यक्रम स्थलमा नै झडप भएको हो । कुर्ची हानाहान समेत भएको थियो । त्यसपछि स्थिति तनावपूर्ण बनेको थियो ।
घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्ने लगायत विषयमा उनीहरू बीच विवाद भएको बताइएको छ ।


0 comment