काठमाडौँ : बागमती प्रदेशबाट ब्लुबुकको क्यूआर कोड वितरण सुरु भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात कार्यालयहरूबाट ब्लुबुकको क्यूआर कोड वितरण थालिएको हो ।
यो प्रणालीबाट सवारी साधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिन्छ । क्यूआर कोड भएपछि ब्लुबुक साथमा बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
बागमती प्रदेशभर अब सवारी साधनको जाँचका क्रममा ब्लुबुकको क्यूआर देखाए पनि पुग्नेछ । ब्लुबुकको क्यूआर कोड प्राप्त गर्न बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको वेबसाइटभित्र रहेको प्रणालीमा गएर आफ्नो व्यक्तिगत विवरण र सवारी साधनको विवरण भर्नुपर्छ । विवरण भरेपछि यातायात कार्यालयमा जाने मिति बुक गर्नुपर्छ ।
बुक गरेको मितिमा ब्लुबुकको सक्कल प्रति र नागरिकतासहित यातायात कार्यालयमा उपस्थित भएर प्रमाणित गरेपछि मोबाइलमा क्यूआर कोड प्राप्त गर्न सकिन्छ ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवकोटीले ब्लुबुक क्यूआर वितरण सुरु भएपनि सेवाग्राहीको संख्या थोरै भएको बताउनु भयो ।
शिवाकोटीले मिति बुक गरेर पनि कार्यालयमा नआएकाहरूलाई फोन गरेरै बोलाउन थालेको र प्रचारप्रसार हुँदै गएपछि क्यूआर कोड लिन आउनेहरू बढ्छन् भन्ने हाम्रो अपेक्षा रहेको बताउनु भयो ।
तर, अनलाइनबाट सबै काम हुनुपर्नेमा किन यातायात कार्यालय धाउन बाध्य बनाउनुभएको त ? भन्ने प्रश्नमा शिवाकोटीको भन्नू हुन्छ ब्लुबुक र सवारीधनी प्रमाणित गर्न अहिले कार्यालय आउनैपर्ने अवस्था छ, विस्तारै प्रविधिको स्तरोन्नति गर्दै गएपछि कार्यालय आउन नपर्ने व्यवस्था मिलाउने बताउनु हुन्छ ।
१९ वैशाखमा राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बागमती प्रदेशबाट जारी भएका ब्लुबुकका लागि क्यूआर कोड प्रणाली सुरुवात भएको थियो । तर सुरुवाती केही दिनसम्म मन्त्रालयले आवश्यक प्रविधि र प्रणाली हस्तान्तरण नगरेकाले यातायात कार्यालयहरूले क्यूआर कोड दिन नपाएको हो।


0 comment